देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले स्थायी कमिटी बैठक बस्दै

देशान्तर

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार बैठकमा विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्ने तयारी रहेको छ। विधान अधिवेशन यसै महिनाको अन्तिममा गर्ने तयारी गरे पनि केही दिन पछाडि सर्ने सम्भावना रहेको तामाङले बताए। बैठकमा केही विभागहरु पनि गठन गरिँदैछ।

कार्यालय सचिव तामाङका अनुसार बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर‚ नेपाल समूह भने आज पनि बैठकमा नजाने भएको छ। नेपाल पक्षीय नेता डा। बेदुराम भुषालले कुरा नमिली बैठकमा नजाने बताए। ‘हामीलाई बैठकमा बोलाउनु नबोलाउनुको कुनै अर्थ छैन,’ भुषालले भने, ‘विवाद समाधान नभइ हामी जाँदैनौं।’

ओली पक्षीय स्थायी कमिटी सदस्य सुवास नेम्बाङले आफूहरु अहिले पनि दुई शीर्ष नेताबीच भेट गराएर विवाद समाधानको प्रयासमा रहेको बताए। नेम्बाङले दुई दिनअघि नेता नेपालसँग भेट गरी अध्यक्ष ओलीसँग बसेर छलफल गर्न आग्रह गरेका थिए। अहिले पनि पार्टीलाई एकतावद्ध बनाएर लैजान प्रयास जारी रहेको नेम्बाङको भनाइ छ।