देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटा र मन्त्री भुषालबीच समसामयिक विषयमा छलफल

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषालबीच शुक्रबार छलफल भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रीत रहेको थियो। सभामुख सापकोटा र मन्त्री भुषालबीच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ।

मौसम सुरु भएलगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ। उनीहरुबीच मनसुन जारी रहेकोले सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको जनाइएको छ।

सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठूलो जनसंख्या यस वर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ। सभामुख सापकोटाले संसदको चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरिसकेका छन्। सभामुख र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबीच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ।