देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीले जति गाली गरेपनि म एकताकै पक्षमा छु : माधव नेपाल

देशान्तर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको दोहोराएका छन् । बिहीबारबाट सुरु भएर आज सकिएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफुलाई जति नै गाली गरेपनि एकताको पक्षमा रहेको बताएका हुन् ।

नेपालले बैठकमा बोलेको विषयमा जानकारी दिदै नेता रघुजी पन्तलेआलोचना गर्दा संयमित हुनुपर्ने बताएको उल्लेख गरेका छन् । नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने- ‘हामीले आलोचना गर्दा सयंमित बन्नुपर्‍यो । केपी ओलीले मलाई जति नै गाली गरेपनि म अहिलेपनि पार्टी एकता होस् भन्ने पक्षमा छु । एकताका लागि हाम्रो प्रयत्न जारी छ । ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने आशंका धेरै साथीहरूले गर्नुभएको छ । तर, म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु ।’

बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न भएकाले विवाद मिलाउन सक्रिय नेताले ती सन्दर्भलाई ख्याल गरेर समझदारी जुटाउनुपर्ने आवाज उठाएका थिए । गत असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको लोकप्रिय छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ ।

साथै अध्यक्ष ओलीले स्थानीय तहस्तरका पार्टीका अधिवेशन र विधान अधिवेशन तोक्ने निर्णय गरेर आफूखुशी अघि बढेकाले एकताको प्रक्रिया चलिरहेका बेला दुवै पक्षका समानान्तर गतिविधि हुन नहुने बैठकमा प्रस्ताव गरिएको थियो ।

पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले कार्यदलले समाधानका लागि सबै सवाल नसमेटेकाले त्यसबारे आफूहरु स्पष्ट हुन चाहेको र आत्मसम्मानसहितको एकताका पक्षमा कुरा उठाइएको बताए । उनले एकले अर्कोलाई अवहेलना र आरोपित गर्ने कार्यले सहजरूपमा काम गर्ने वातावरण नबन्ने भएकाले मनोवैज्ञानिक तथा भौतिकरुपमा सहज वातावरण निर्माण हुनुपर्ने बताए । नेता खतिवडाले पार्टीमा हार्दिकतापूर्वक सहयोगात्मक रुपमा सँगै काम गर्ने अवस्थाका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको मेल हुनु महत्वपूर्ण पक्ष भएको जनाए ।