काठमाडौं – नेकपा एमालेको विधान संशोधन प्रस्ताव स्थायी कमिटीबाट पारित भएको छ।
विधान संशोधन प्रस्ताव स्थायी कमिटीले पारित गरेसँगै केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए। केन्द्रीय कमिटीको बैठक दिउँसो ३ बजे बस्दैछ। एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन तय गरेको छ। स्थायी कमिटीले पास गरेका दस्तावेज केन्द्रीय कमिटी बैठकमा छलफलका लागि पेश हुनेछन्।
संस्थापन पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित रहँदै आएको छ। आन्तरिक विवाद समाधान नहुँदासम्म बैठकमा सहभागी नहुने सो पक्षको अडान छ।
पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेको नेपाल पक्षकै आग्रहमा हिजो बस्नेगरी बोलाइएको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक एक दिन सारिएको थियो।
नेपाल पक्षले भने सहमति गर्न पर्याप्त छलफल आवश्यक भएकाले केही दिन बैठक स्थगित गरेर दुवै पक्षबीच संवादमा जोड दिइरहेको छ।





प्रतिक्रिया