
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज बस्दै छ । विपक्षी दलका सांसदहरुले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसँग समावेदन गरेपछि विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि तय भएको हो ।
प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता गराईएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न अधिवेशन बोलाईएको छ ।
अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि छलफल हुने भएको हो ।
अविश्वासको प्रस्ताव टेबुल भएपछि आज नै यसको छिनोफानो हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वासको प्रस्तावमाथि छलफल हुने दिननै मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएर एमालेको एकल बहुमत दाबी गर्दै सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यस्तै वैशाख २६ मा दोस्रोपटक अविश्वासको प्रस्ताव दर्ता भए पनि तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन आह्वान गरेका थिएनन् ।





प्रतिक्रिया