बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।
पोखरेलले बुधबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।
सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।
प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्चमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।





प्रतिक्रिया