देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुने

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको हो। बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत हुनेछ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुने बताए। १६ भदौदेखि हुने भनिएको महाधिवेशन नहुने निश्चित भएको अवस्थाबीच बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले २३ भदौ अगाडि जुनसुकै हालतमा महाधिवेशन हुनुपर्ने अडान राख्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने कार्यतालिका संशोधन गरेर महाधिवेशनलाई अझ पर धकेल्ने पक्षमा छ। ५० हजार रूपैयाँ जरिवाना तिरेर महाधिवेशन शून्य समयमा गर्ने भन्दै आएको छ। तर महाधिवेशन अगाडिको मुख्य कार्यभार भनिएको क्रियाशील सदस्यता टुंगिएको छैन। महिनौंदेखि विवादमा छ।

सिन्धुपाल्चोक, रसुवा, धनुषाको निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ सँगै बारा र सप्तरी लगायत जिल्लामा विवाद देखिएको हो। समझदारी गरेर यी स्थानहरूबाट महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि कसरी सहभागी गराउने भन्ने टुंगो लागेको छैन। टुंग्याउने जिम्मेवारी पदाधिकारी बैठकबाट पार्टीको शीर्ष नेतृत्वले पाएको थियो। तर, टुंग्याएको छैन।