काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बिहान ११ बजेबाट केन्द्रीय समिति शुरु हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।
बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ। आजको बैठकमा पनि यही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार प्रस्तुत गर्नेछन्।
कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका संशोधनका लागि तय गरिएको बैठक अझै केही दिनसम्म लम्बिन सक्ने बताइएको छ। भदौ २३ भित्रमा महाधिवेशन प्रक्रिया शुरु नगरे संवैधानिक संकट आउने देखिएकाले यो केन्द्रीय समितिले स्पष्ट कार्यतालिका सार्वजनिक गर्नैपर्ने बाध्यता रहेको केन्द्रीय सदस्य पौडेलले बताए।
यस विषयमा छलफल शनिवारसम्म जान सक्ने उनले बताए। केन्द्रीय समितिले १४ औँ महाधिवेशनबारे विशेष निष्कर्ष निकाल्ने उनको दाबी छ।





प्रतिक्रिया