देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको आरोप : संसद अधिवेशन अन्त्य गरेर एमाले फुटाउने षड्यन्त्र भयो

देशान्तर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन अन्त्य गरेर आफ्नो दललाई फुटाउने षड्यन्त्र भएको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । सोमबार अबेर राति वक्तव्य जारी गर्दै उनले पार्टी फुटाउने षडयन्त्रविरुद्ध एकजुट हुन अपिल गरेका हुन् ।

केही समययता एमाले र कम्युनिस्ट आन्दोलनलाई नै विभाजन गरेर समाप्त पार्ने गम्भीर षड्यन्त्र भइरहेको ओलीको भनाइ छ । उनले पूर्वघोषित प्रतिबद्धताविपरीत प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन र एमालेलाई विभाजित गर्ने षड्यन्त्र भैरहेको जिकिर समेत गरेका छन् ।

नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै बहाना वा षड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने चेतावनी पनि उनले दिएका छन् ।

उनले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् ।

ओलीले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि भएका सहमति र अहिले पनि भइरहेका प्रयासहरु पनि स्मरण गराएका छन् । उनले पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफू सम्बद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न पनि आग्रह गरेका छन् ।

विज्ञप्ति जस्ताको तस्तै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय

वक्तव्य

१. सुल्झिएको विचार, सुदृढ संगठन र फराकिलो जनाधार सहितको एकताबद्ध नेकपा (एमाले)को नेतृत्वमा मात्र संविधानको रक्षा र कार्यान्वयन गर्न सकिन्छ, लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियताको रक्षा गर्न र मुलुकलाई सुशासन तथा समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्षका साथ पार्टी एकताको रक्षाका लागि हामीले गरेको अनवरत प्रयासका बारेमा कमरेडहरु अवगत नै हुनुहुन्छ । २०७० फागन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्यनिष्ट पार्टीलाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेका थियौ । त्यो सम्भव नभएपछि नेकपा (एमाले) लाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रुपमा विकास गर्न केन्द्रित रह्यो । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको तथ्य पनि सबैलाई जानकारी नै छ।

२. कार्यदलका तर्फबाट असार २८ गते उक्त प्रस्ताव प्राप्त भइसकेपछि मैले सोही दिन त्यसलाई ग्रहण गरेको थिए । त्यसै अनुरुप २०७८ साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४र७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्वपूर्ण आधारका रुपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। सयौ सहीदहरुको बलिदान, हजारौ नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लामो सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ । पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निवाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछ । सबैलाई सम्मानका साथ पार्टी कामका जट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछ । तसर्थ, पार्टीलाई अनुशासित, एकताबद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुलाई हार्दिक आह्वान गर्दछु । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफ सम्बद्ध कमिटीका बैठकमा सरिक हुन र आ आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछ।

३ केही सयमयता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौं । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु।

४ हाम्रा सामु पार्टीको विधान, मुलकको संविधान र कानुनी व्यवस्था बमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी छ । यस बीचमा विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यहरुलाई सुझाव पठाउन निर्देशन गरिएको छ। मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु। जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतान्त्रिकरणको मर्म अनुरुप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आआफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक आग्रह गर्दछु ।

५ कान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्ता पक्षबाट प्रतिपक्षमा परिवर्तित भएको छ। यस धक्कावाट उठेर पार्टीलाई पुन राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न सम्पूर्ण कमरेडहरुलाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिल गर्दछ ।
हार्दिक अभिवादनसहित।

केपी शर्मा ओली
अध्यक्ष