काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैचारिक रुपमा स्पष्ट हुन नसक्दा नेपालका कम्युनिष्ट पार्टीहरू टुटफुटको अवस्थामा पुगेको बताएका छन् । आज (बिहीबार) काठमाडौंमा समाजवादी केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले वैचारिक स्पष्टता नहुँदा नेपालका कम्युनिष्ट पार्टीहरुमा संकट आइलागेको बताए ।
माओवादी सशस्त्र संघर्षको १० वर्षको छोटो अवधिमा प्राप्त गरेको राजनीतिक उपलब्धि समेत पछिल्लो समयमा गुम्न पुग्दा अहिले पुनः पुराना शक्तिहरु नेपालको राजनीतिमा हावी हुन पुगेको भट्टराईले बताए । ‘नेपालको जटिल भू-राजनीति, आर्थिक सामाजिक संरचनामा रहेको विविधताका कारणले पूर्णतामा हामीले जनयुद्धको उपलव्धीलाई पूर्णतामा पुर्याउन सकेनौं, गणतन्त्रसम्म त पुर्यायौं तर त्यहाँभन्दा अघि बढ्न सकेनौं । यसैका कारण सबै कम्युनिष्ट पार्टी संकटमा परेका हुन्’, भट्टराईको भनाइ छ ।
उनले नेपालको परिवेशअनुसार दलहरुले नीति र कार्यक्रम र नयाँ ढंगको समाजवादको खाका तयार गर्न नसक्नु नै अहिले आफूहरुको समस्या भएको पनि बताए । डा. भट्टराईले बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफूहरुले पनि त्यसो गर्न नहुनेमा जोड दिए । ‘बाघ बुढो भए पनि घाँस खाँदैन । हामीले घाँस खानु हुँदैन घाँस नखाई निकास दिन सक्छौं’, उनले थपे, ‘हामी त ७० आसपास भइसक्यौं अब नसकौंला तर नयाँ पुस्तालाई हामीले बाटो देखाउनु पर्छ ।’





प्रतिक्रिया