देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकताको सम्भावना अझै बाँकी रहेको एमालेका ९ नेताको दाबी, १० बुँदे कार्यान्वयन गर्न माग

देशान्तर

नेकपा एमालेका ९ जना नेताले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै दुबै पक्षका कार्यदलका नेताहरुले सिफारिस गरेको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकेको भए त्यो एकताको बलियो आधार रहेको दाबी नेताहरुले गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,’त्यो सिफारिस एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो ।’

माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाउने निर्णयमा असहमति राखेका नौ नेताहरुले अझै पनि एकताको सम्भावना रहेको दाबी गरेका छन् । नौ जना नेताले विभाजित पार्टीको एकताका लागि अझै आफूहरु क्रियाशील रहेको जनाएका छन् ।

एकता प्रक्रिया अघि बढाउनका लागि सरकारद्वारा हालै जारी गरिएको दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारवाही रद्द गर्नुपर्ने माग अघि सारेका छन् ।

विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्तारुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्पर हुन पनि नेताहरुले आह्वान गरेका छन् ।

विज्ञप्तीमा हालै बाग्मतीको मुख्यमन्त्रीमा नियुक्त भएकी नेतृ अष्टलक्ष्मी शाक्यको पनि हस्ताक्षर छ । हस्ताक्षर गर्ने अन्य नेताहरुमा उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव भीम आचार्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।