देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेताहरुको जिम्मेवारी तोक्ने विषयमा माओवादी बैठक आज पनि

देशान्तर

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्ने भएको छ । शनिबारदेखि शुरु भएको बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल प्रारम्भ भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउने र त्यसका लागि कुन नेतालाई के ककस्तो जिम्मेवारी दिने विषयमा छलफल गरेको हो ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकको दिशा निर्देशअनुसार पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउने गरी छलफल केन्द्रित गरिएको माओवादीले जनाएको छ ।

माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रिय सम्मेलनको तयारी तथा अन्य साङ्गठनिक विषयमा बैठक केन्द्रित हुने छ ।

केन्द्रीय समितिको निर्णयअनुसार पार्टीका केन्द्रीय, प्रदेश र स्थानीय तहमा रहेको रिक्त पदमा परिपूर्ति गर्ने वा नगर्ने सन्दर्भमा विचार विमर्श भएको बताइएको छ ।

केन्द्रीय समितिमा प्रस्ताव गरिएको अन्तरिम विधान अनुसार पार्टीका सबै संरचनामा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व गराइनेछ ।

युवाको प्रतिनिधित्वलाई पनि सुनिश्चित गरिएको छ भने दलित समुदायलाई पनि विशेष सम्बोधन गरिएको छ ।