देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपाल र महन्त ठाकुरको दल दर्ताका लागि सनाखत हुँदै

देशान्तर

निर्वाचन आयोगले आज दुई वटा दल दर्ताका लागि सनाखत गराउने भएको छ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका माधव कुमार नेपाल र महन्त ठाकुर पक्षका नेताहरुको सनाखत गराउने भएको छ ।

नेपालले नेकपा एमालेबाट अलग भएर आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् भने महन्त ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निवेदन दिएका छन् । त्यसैका लागि आगोगले नयाँ पार्टीमा आवद्ध भएका नेताहरुलाई आज विहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म सशरीर नागरिकताको प्रमाणपत्रसहित उपस्थित हुन भनेको छ ।

भारतमा उपचाररत् झलनाथ खनालको हकमा कसरी सनाखत गर्ने भन्नेबारे आयोगले केही बताएको छैन । आज सनाखत सकेर आजै दल दर्ता गर्ने निर्वाचन आयोगले तयारी गरेको बताइएको छ ।

माधव नेपालको दल दर्ता भएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नुपर्ने भएकोले निर्वाचन आयोगले झण्डै ४५ दिन लाग्ने दल दर्ताको प्रक्रिया छोट्याएर फाष्ट ट्र्याकबाट काम अघि बढाएको हो ।

यसैबीच, निर्वाचन आयोगले संसद् सचिवालयलाई पत्र लेख्दै एमाले र जसपाबाट विभाजन भएर नयाँ पार्टी गठनका लागि निवेदन परेकाले ती पार्टीको संसदीय दलको विवरण दिन भन्दै पत्र पठाएको थियो ।

आयोगले पत्रमा विभाजित भएर गठन हुने नयाँ दलमा २० प्रतिशत सांसद संख्या पुग्छ कि पुग्दैन भनेर पनि प्रश्न पनि गरेको छ ।

संघीय संसद् सचिवालयको सांसद सुविधा शाखाले दुवै पार्टीको संसदीय दलको विवरण पठाएको हो । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले एमाले र जसपाको सांसदहरूको अध्यावधिक सूची निर्वाचन आयोगमा पठाइएको जानकारी दिए ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरि एमालेका १५४ सांसद रहेको र जसपाका ३७ जना सांसद रहेको जवाफ पनि पठाइ सकिएको छ ।

विभाजित भएर जानेको २० प्रतिशत संख्या पुग्छ कि पुग्दैन भन्ने गणना गर्ने अधिकार र कार्यक्षेत्र संसद् सचिवालयको नभएको र त्यो काम आयोगकै भएको संसद सचिवालयका प्रवक्ता पाण्डेले बताएका छन् ।