काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यालमा जिल्ला सभापतिहरुको अनसनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले ऐक्यवद्धता जनाएका छन् ।
कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गर्दै रिले अनसनमा बसेका छन् ।
अनसनस्थलमा पुगेर नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह, सितादेवी यादव, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरुले एक्यबद्धता जनाएका छन् ।
कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले सो माग गर्दै मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो भने आजदेखि माग पूरा नभएसम्म रिले अनशन सुरु गरेको काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए ।
अनशनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभ्रेका सभापति आचार्य, धादिङका सभापति रमेश धमला, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्ण र पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी बसेका छन् ।
यस सन्दर्भमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताको सहमतिमा नै क्रियाशील सदस्यताको सबै निर्णय गरिसकेको र सो कार्य कार्यान्वयनको चरणमा गएको बताए ।
सभापति देउवाले निर्धारित समयमै अधिवेशन गराउन वरिष्ठ नेता पौडेलको सहमतिमा निर्णय गर्नुभएको र जिल्ला सभापतिका माग पनि स्वीकार भइसकेको सन्दर्भमा अनशन किन भनी उनले प्रश्न गरे ।
सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङग्याइ अन्तिम रुप दिएको थियो । नेताहरु कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएका थिए ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ-नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते हुनेछ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।





प्रतिक्रिया