देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर एकसाथ वडा अधिवेशन गर्न देउवा सहमत, सहमतिबारे पौडेल पक्ष छलफलमा

देशान्तर

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसमा देशका ७७ वटै जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति जुटेको छ । शुक्रबार राति प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देशभरका वडामा एकै दिन अधिवेशन गर्ने सहमति भएको चाक्सीबारी स्रोतले जानकारी दिएको छ ।

देउवा र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा शनिबार बिहान शुरु भएको छलफलमा पौडेल समूहका शीर्ष नेताहरुसँगै केहि जिल्ला सभापतिहरु पनि सहभागी छन् ।

शुक्रबार बिहान बसेको पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशील सदस्यता, जिल्ला सभापतिहरुको अनशन र अधिववेशनका बारेमा सभापति देउवासँग भेटेर छलफल गर्ने निर्णय गरेको थियो । पौडेल समूहका नेताहरु शुक्रबार साँझ बालुवाटार पुगेका थिए । पौडेल समूहले देशभरका सबै वडामा तोकिएकै मितिमा वडा अधिवेशन हुनुपर्ने माग गरेको थियो ।

त्यस्तै क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने र जिल्ला सभापतिको उम्मेदवारको हकमा दोहोरो मापदण्ड हटाउनुपर्ने जिल्ला सभापतिहरुको मागका बारेमा सभापति देउवासँग छलफल गरेको हो ।