देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कतारमा १० वर्षमा १८ सय नेपालीको मृत्यु

देशान्तर

एम्नेस्टी इन्टरनेसनलले कतारमा ज्यान गुमाएका आप्रवासी नेपाली श्रमिकबारे चासो देखाउँदै मृत्यु प्रमाणपत्र जारी गर्नुअघि गम्भीर अनुसन्धान गर्न कतार सरकारलाई आग्रह गरेको छ । काम गर्ने समय लामो हुने, शारीरिक श्रम बढी हुने तथा चर्को गर्मीका कारण हुने मृत्युका सम्बन्धमा एम्नेस्टीले विशेष चासो देखाएको हो ।

‘अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्छ । आप्रवासी श्रमिकको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीले केही महत्त्वपूर्ण संकेतलाई बेवास्ता गरिरहेका छन्,’ एम्नेस्टीका तर्फबाट बिहीबार जारी विज्ञप्तिमा आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन्, ‘यो बाँच्न पाउने अधिकारको उल्लंघन हो । उनीहरूले पीडित परिवारको कानुनी उपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेका छन् ।’

जारी गरिएका मृत्यु प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्न श्रम, स्वास्थ्य र न्याय मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय छानबिन समिति गठन गर्न एम्नेस्टीले माग गरेको छ । ‘मुख्य कारण जनाउने थप व्यहोरा बिनाश्वासप्रश्वास वा मुटुको समस्याका कारण ज्यान गएको भन्ने वाक्यांशलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन । तर त्यस्तो समस्याले नै सबैको मृत्यु हुन्छ र त्यसको कारण नखुलाइएका वाक्यांश अर्थहीन हुन्छन्,’ एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुरमा खबर छ ।