देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगविरूद्ध एमालेले आज मुद्दा दर्ता गर्ने

देशान्तर

काठमाडौँ – दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै नेकपा एमाले बुधबार अदालत जाने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आज अपरान्ह मुद्दा दर्ता गर्नेगरी तयारी भइरहेको बताए ।

‘आज कार्यालय समयभित्रै मुद्दा दर्ता गर्ने गरी तयारी गर्दैछौ, मुद्दाको ब्यहोरालाई अन्तिम रुप दिने काम भइरहेको छ’ भट्टराईको भनाइ छ ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी भइरहेको एमाले केन्द्रीय कार्यालयका सचिव तथा केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । एमालेले गत भदौ १ मा पार्टी विभाजनमा लागेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सांसदलाई पदमुक्तको निर्णय गरेको थियो ।

तिनै कारवाही गरेका १४ सहित ३० सांसद र ५५ केन्द्रीय सदस्यहरुको सनाखतलाई मान्यता दिएर आयोगले भदौ ९ गते बुधबार नेकपा (एकीकृत समाजवादी) नामक पार्टीलाई राजनीतिक दलको प्रमाणपत्र दिएको थियो ।

शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ पार्टी दर्ताको प्रमाणपत्र दिएको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको थियो ।