देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तुइन घटना – भारतसँग कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई पत्र पठायो

देशान्तर

काठमाडौँ — महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएको जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।

सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो ।

 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यसबारे बोल्न चाहेनन् । ‘छानबिन प्रतिवेदनबाट प्राप्त तथ्यबारे संक्षिप्त व्यहोरा हामीले मंगलबार नै अवगत गराइसकेका छौं, यसबाहेक अरु विषयमा अहिले बोल्न म असमर्थ छु ।’ तर, स्रोतका अनुसार गृहले बुधबार दिनभर पत्रको व्यहोरा र कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्श र सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो । त्यसपछि परराष्ट्रलाई पत्र पठाइएको स्रोतको भनाई छ ।