देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस सभापतिका चार आकांक्षीले भने : ‘एउटाले मात्रै उम्मेदवारी दिन्छौं’

देशान्तर

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षीहरुले आसन्न महाधिवेशनमा एकताबद्ध भएर प्रतिस्पर्धा गर्ने प्रतिबद्धता बताए‍का छन् ।

वडा अधिवेशनको सम्मुखमा पौडेल समूहका नेताहरुले एकताको सन्देश दिँदै महाधिवेशनमा सिंगो समूहका तर्फबाट एक जनामात्रै उम्मेदवार बन्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

‘हामी यो पार्टीभित्र जो सुधारको पक्षमा छौं । पार्टीको लोकतान्त्रिक सपनालाई साकार पार्ने सोचिरहेका छौं । पार्टी बचाउने, यो देशमा लोकतन्त्र बचाउने र मुलुकको स‍मृद्धि चाहनेहरु अहिले एकताबद्ध भएका छौं,’ सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले भने, ‘यो विचार मिल्नेहरुको समूहबाट भोलिको निर्वाचनमा एउटै सभापतिको उम्मेदवार दिएर, एउटा राम्रो नेतृत्व दिएर अगाडि बढ्छौं । हामी देशभरिका साथीहरुलाई आश्वास्त पार्न चाहन्छौं कि हाम्रो टिमबाट एउटा मात्रै सभापतिको उम्मेदवार दिन्छौं । त्यसका लागि म साथीहरुलाई ढुक्क रहन आग्रह गर्दछु । म सबै साथीहरुको तर्फबाट यो सन्देश दिन चाहन्छु ।’

पौडेलको दायाँपट्टि महामन्त्री शशांका कोइराला र बायाँपट्टि क्रमशः पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला बसेका थिए । पौडेलसहित कोइरालाद्वय र सिंह आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी हुन् । सबै नेताहरुको तर्फबाट छोटो सम्बोधन गरेका पौडेलले १४ औं महाधिवेशनको अन्तिम अवस्थासम्म पनि यो एकता कायम रहने र कुनै पनि किसिमको आँच आउन नदिने प्रतिबद्धता जनाए । ‘हामी १४ औं महाधिवेशनको अन्तिम अवस्थासम्म पनि एकताबद्ध रहन्छौं । हामीबीच कुनै पनि किसिमको आँच आउँदैन । हामी देशभरिका साथीहरुलाई यो सन्देश दिन चाहन्छौं,’ पौडेलले भनेका थिए ।