देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सर्वसम्मत र स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व छानौं : देउवा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई संस्थागत गर्न पार्टी बलियो बनाउन जरुरी भएको बताएका छन् । पार्टीको वडा अधिवेशनको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न आग्रह गरेका छन् ।

उनले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच महाधिवेशन शुरु गर्नु परेकोले सामाजिक दूरी कायम गरी सहभागी अनुरोध गरेका छन् । भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागी हुनु भएको छ र मैले ती सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु ।’

नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडि रहेको विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन-जनमा लोकतन्त्रको रक्तसंचार गर्छ ।’ देउवाले भनेका छन्, ‘देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’

विगतको योगदान, जनताको भरोसा, परिपक्वता र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको बताउँदै प्रधानमन्त्रीसमेत रहेका देउवाले जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण गरेका छन् । उनले १४ औं महाधिवेशनमार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमिएको बताएका छन् । उनले शुक्रबारदेखि शुरु हुने वडा अधिवेशनमा सहभागीलाई स्वागत तथा बधाई ज्ञापन समेत गरेका छन् ।