देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमा समावेशी प्रतिनिधित्व सुनिश्चित : महामन्त्री खड्का

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रियामार्फत सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन्।

पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै खड्काले सबै तहका संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको उल्लेख गरेका छन्।

‘नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ‚’ खड्काले भने‚ ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैं अगाडि रहेको छ। पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पार्टीको वडाका अधिवेशनले सहयोग पुर्‍याउँनेछ।’

क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका विभिन्न वडामा अधिवेशन आरम्भ भएको कांग्रेसले जनाएको छ। क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र सबै वडाको अधिवेशन यही भदौ २७ गते निर्धारित गाउँरनगरपालिका अधिवेशनसम्म सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ।

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँरनगर वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यहरूले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन्। वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ। यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्।

महाधिवेशनअन्तर्गत गाउँरनगर वडा अधिवेशन भदौ १८ गते, गाउँरनगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते तोकेको छ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।