हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरू भदौ २७ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन्।
हेटौंडा उपमहानगरपालिकाले आइतबार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग गरेको छलफलले विद्यार्थीलाई स्कुलमै उपस्थित गराएर पठनपाठन गर्ने निर्णय गरेको हो। विद्यालयका कुल विद्यार्थी संख्याको आधा विद्यार्थीलाई मात्रै कक्षामा उपस्थित गराएर आलोपालो प्रणालीमा पठनपाठन गराउने निर्णय भएको छ।
जोर गते जोर रोल नम्बर भएका विद्यार्थी र बिजोर गते बिजोर रोल नम्बर भएका विद्यार्थीलाई कक्षामा राखी पढाउने सहमति भएको छ। छलफलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिक्षकले नै उपयुक्त योजना बनाएर पठनपाठन गराउनु पर्ने बताए।
लामो समय पठनपाठन नहुँदा सामुदायिक स्कुलमा विद्यार्थीको सिकाई र गुणस्तर खस्किएको भन्दै मेयर महतले आलोपालो प्रणालीमा भएपनि पठनपाठन थाल्नुपर्ने बताए। हेटौंडा उपमहानगरमा ७७ वटा सामुदायिक विद्यालय छन्।





प्रतिक्रिया