देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर बदली, शनिबार साँझसम्म बर्षाको सम्भावना

देशान्तर

काठमाडौं – हाल (मंगलबार बिहान) देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश-१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहनुका साथै देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ ।

केही दिनदेखिको झरी शनिबार साँझसम्म परिरहने भएको छ । आइतबार बिहानबाट मौसम केही खुल्ने वरिष्ठ मौसमविद् निराजन सापकोटा बताउँछन् । ‘विहान पानी पर्ने दिउँसो केहीबेर रोकिने र पुनः पर्ने तथा अपराह्न ४-५ बजेदेखि कम हुने क्रम जारी रहने छ’, मौसमविद् सापकोटा भन्छन्, ‘यो क्रम शनिबार साँझसम्म नै रहन्छ । आइतबारबाट मात्रै मौसम खुल्ने देखिन्छ ।’ सापकोटाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश-१, वागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा पनि आज दिउँसो पानी पर्ने र रोकिने क्रम चलिरहने उनको भनाइ छ ।

आज राति देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन उनको अनुरोध छ ।

‘केही दिनदेखिको झरीका कारण गलेको जमिन सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रान बग्ने सम्भावना भएकाले अझै केही दिन सतर्क हरनु पर्नेछ’, उनी भन्छन्, ‘माटो भिझिसकेकाले सानो पानी पर्दा पनि बाढी आउने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुले सतर्क हुनुपर्छ ।’