देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ सम्म गरिने

देशान्तर

काठमाडौं –  सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो। प्रस्तावअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ। कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन्। त्यसपछि मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ।

यु्तै बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप करिब रु पाँच अर्ब ५४ करोड बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि करिब रु पाँच अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। त्यसैगरी बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुने निर्णय गरेको छ।