देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी उपाध्यक्षले भेट्ने भएपछि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

देशान्तर

काठमाडौँ – एमसीसी उपाध्यक्ष फातिमा सुमारले राजनीतिक भेटघाट गर्ने भएपछि सरकारमा रहेका सत्तारुढ गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका छन् ।

एमसीसी उपाध्यक्ष सुमारको टोलीले प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटघाट शुरु गरेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसेका हुन् ।

बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । यस्तै एमसीसीका तर्फबाट बुधबार आएको जवाफको विषयमा छलफल गरेर साझा धारणा बनाउन लागिएको शीर्ष नेताहरुको छलफलमा अर्थमन्त्री जनार्दशन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्की पनि सहभागी छन् ।

बैठक मुख्यगरी एमसीसी, सरकार विस्तारकै विषयमा केन्द्रित रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । सत्तारुढ दलका चार शीर्ष नेताहरुको बैठक बस्नुअघि बिहीबार बिहान प्रचण्ड, नेपाल र यादवबीच हात्तीवनमा छलफल भएको थियो । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चार दिने भ्रमणका क्रममा नेपाल आइपुगेकी छिन् ।

सुमारलगायतको प्रतिनिधिमण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेको छ । भेटघाटमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष ओलीले उपाध्यक्ष सुमारलाई एमसीसीबारे आफूहरुले हतारमा धारणा नबनाउने बताएका छन् । उनले पहिला सरकारमा बस्नेले ‘पोजिसन’ बनाउनु पर्ने जवाफ दिएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरुबीच संसदलाई प्रभावकारी सञ्चालनको विषयमा पनि एउटै धारणा बनाइनेछ । हिजो एमालेले संसद अवरुद्ध गरेको थियो ।