देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चितवनमा भाइरल ज्वरोका बिरामी बढे

देशान्तर

चितवन – मौसम परिवर्तन भएसँगै चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीहरु बढेका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो संख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिए ।

भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उनले बताए।

मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताए ।

अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उनको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् ।

बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।