देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन समितिका संयोजक यादवको राजीनामा पछि निर्वाचन प्रक्रिया अन्यौलमा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया शुरु भइसकेपछि केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट एकाएक राजीनामा दिएपछि अन्यौल बढेको छ ।

पार्टीभित्र क्रियाशील सदस्यता विवादका कारण विभिन्न जिल्लाको सदस्यता विवरण नै सार्वजनिक गर्न नसकेका बेला वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन समितिका संयोजक यादवले नै राजीनाामा दिएका हुन् ।

जिल्लाले पठाएको विवरण काटेर केन्द्रबाटै सयौंको संख्या थपेर पठाएपछि स्वयं सभापति शेरबहादुर देउवाको गृहजिल्ला मै विवाद चरमोत्कर्षमा पुगेको छ ।

असन्तुष्ट पक्षले केन्द्रीय सभापतिले नै हस्तक्षेप गरेर जिल्लाले पठाएको नामावली कटाएर करिब पाँच सयको नामावली केन्द्रबाट थपिएको भन्दै निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् । पार्टीभित्रको संस्थापन ईतर नेता रामचन्द्र पौडेललगायतले सभापति देउवाको शैलीको आलोचना गरेका छन् ।

निर्वाचन प्रक्रिया थालेर वडा अधिवेशन नै नसकाई एकाएक निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि उनिमाथि पार्टी संस्थापन पक्षबाट ठूलै दबाब परेको अनुमान गरिएको छ ।

प्रक्रिया मिचेर ल्याइएका फाइलहरुमा जबरजस्ती हस्ताक्षर गर्न संस्थापन पक्षले लगाएकाले रुष्ट भएर यादवले राजीनामा दिनुभएको निर्वाचन समितिमै रहेका एक सदस्यले नाम उल्लेख नगर्ने गरी जानकारी दिएका छन् ।