देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षद्धारा तोडफोड

देशान्तर

काठमाडौं – बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले तोडफोड गरेका छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो ।

वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा लत्ताले हानेका थिए । महानगरका एक अधिकारीका अनुसार आल्मुनियमको ढोका भएकाले सबै ढोकाको कब्जा फुस्किएको छ भने क्षति पनि पुगेको छ ।

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीलाई सोध्दा आफूलाई थाहा नभएको बताएको र प्रशासन विभागका कर्मचारीले भने माथिको आदेशअनुसार सरुवा गरिएको भनेर पन्छिएकाले आफू आक्रोशित हुन पुगेको उनले तबाए ।

मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिएका छन् । तोडफोडबाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउने मेयर शाक्यको तयारी छ ।

वडाध्यक्ष डंगोलले भने महानगरपालिकाले कर्मचारी सरुवामा मनलाग्दी गरेकाले वडाको सेवा प्रवाह लथालिंग हुने अवस्था आएको बताएका छन् ।

त्यसकैविरुद्ध आफूले आवाज उठाएको उनको प्रष्टीकरण छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञावालीले महानगरलाई आफ्नै घर जसरी चलाएको उनको आरोप छ ।