काठमाडौं – सत्ता गठबन्धनबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार थप पछि धकेलिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको बैठक पनि सहमतिमा पुग्न नसकेको हो ।
वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एस०का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
आइतबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।
‘मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारसँगै संसद्मा जारी अवरोध कसरी हटाउने भन्नेबारे छलफल केन्द्रित भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार पनि दिउँसो एक बजेका लागि संसद् बैठक डाकिएको छ ।





प्रतिक्रिया