काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश पार्टी इञ्चार्जमा लेखराज भट्ट नै यथावत रहने स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इञ्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।
आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने बताएका हुन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इञ्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भए पनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न भनेका हुन् ।
भट्ट गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इञ्चार्ज तोकिएका हुन् । त्यसबेला रावल माधव नेपाल समूहमा थिए । माधव नेपालसहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन: ओलीसँगै बसेका थिए । १० बुँदे कार्यदलका संयोजक समेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत: आफै हुनुपर्ने पक्षमा छन् । ओलीको निर्देशनमा रावलले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएको स्रोतले जानकारी दिएको छ ।
सुदुरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएका थिए । ‘कार्यविभाजन यथावत छ । जिम्मेवारी परिवर्तन भएको छैन’, बालकोटमा ओलीले रावललाई भनेका थिए, ‘तपाई उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।’ ओलीले नेताहरुकाबीचमा प्रष्ट भनेका थिए, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन । यसमा प्रष्ट हुनुस् ।’
तर छलफलमा भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन आफुले नै सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्ने अडान ओली समक्ष राखेका थिए । ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नु पर्छ भन्ने मेरो मान्यता हो’, रावलले बालकोटमा ओलीको भनाइप्रति असहमति प्रकट गरेका थिए । तर ओलीले रावलको भनाइप्रति असहमति जनाउदै सहजीकरणको मात्रै नेतृत्व लिन निर्देशन दिएका थिए ।





प्रतिक्रिया