काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधान बनाउँदै गर्दा नै आफूहरुले फरक मत राखेको बताएका छन् । राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेको भन्दै उनले भने, ‘तर जरुरी पर्यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’
दिवंगत नेता बोगटीलाई सम्झिँदै अध्यक्ष दाहालले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकार समेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए । ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखें । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन्,’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’
दाहालले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारे । ‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौं,’ उनले भने, ‘वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’





प्रतिक्रिया