देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेता नेपाललाई एमालेमै फर्कन अष्टलक्ष्मीको सुझाव

देशान्तर

काठमाडौँ – एमाले नेतृ तथा बागमन्त्री प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन् । उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन् ।

आज (बिहीबार) काठमाडौमा एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले भनिन्, ‘मेरो प्रष्ट धारणा छ । माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यकता छ’, शाक्यले थपिन्, ‘माधव नेपाल हामीले मानेको नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नु भएको छ यो ठिक होइन, फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भूमिका एमालेमा अझै आवश्यक छ ।’

उनले नेकपा विभाजनपछि आफूलाई लामो समय बाहिर बस्नुपर्दा धेरै पीडाबोध भएको गुनासो पनि गरिन् । शाक्यले नेकपा विभाजनपछि लामो समय एमाले हुन नसके भन्दै एमालेभन्दा बाहिरै बस्नुपरेको गुनासो सुनाइन् । ‘मेरो जीन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ रु भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुशी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउने भयौ भनेर खुशी भएँ’, शाक्यले पीडा पोखिन् । उनले एमाले पार्टी बनाउन आफू र आफू जस्तै हजारौंको त्याग र समर्पण रहेकाले पछिल्लो पटक एमाले हुन पाउँदा आफूलाई जस्तै अरुलाई पनि खुशी लागेको महसुस भएको बताइन् ।

उनले टुटफुट र जुटबाट गुज्रँदै यहाँ आएको एमालेको आजको आवश्यक्ता भनेको ‘सुदृढ नेकपा एमाले’ भन्दै यसलाई बलियो र विचारयुक्त बनाउन विचारबाट विचलित हुन नहुने बताइन् । उनले अबदेखि प्यानलगत चुनाव गर्न सके सुदृढ एमाले बनाउन सकिने दावी समेत गरिन् । उनले पार्टीमा विगतमा विचार शून्य भएकाले गुटबन्दी मौलाएको भन्दै विचारको छलफल र प्रशिक्षण आवश्यकता रहेकाले विगतका गल्तीको निर्मम समीक्षा गर्न जरुरी रहेको बताइन् । ‘किन यस्तो भयो भनेर हामीले अत्यन्तै निर्मम समीक्षा गर्नैपर्छ, जनमतलाई कदर गर्नैपर्छ’, शाक्यको भनाइ छ । शाक्यले पार्टीबाट जारी १२ औं अन्तरपार्टी निर्देशन (अपानि) अक्षरशः पालना गरेर जानुपर्ने बताएकी छन् । उनले ०७५ जेठ २ मा रहेको जिम्मेवारीलाई मानेर अघि बढ्नुपर्ने बताइन् ।

‘अपानि १२ जारी भइसकेको छ । मेरो सम्पूर्ण कमरेडहरुलाई, खासगरी नेतृत्व तहको कमरेडलाई मेरो अनुरोध छ । जारी भएको अन्तरपार्टी निर्देशनको अक्षरशः पालना गरौं । त्यसमा जालझेल, षड्यन्त्र आवश्यक छैन’, उनले भनिन्, ‘०७५ जेठ २ मा जे भनिएको छ, जो आउँछ, त्यसलाई नेतृत्व मानेर अघि बढौं । के फाइदा छ हामीलाई रु विभाजन भएर फाइदा भयो ?’ उनले अपानि पालना गरेर त्यसैअनुसार कमिटी गठन गरेर जानुपर्ने बताइन् । हिजोको पूर्वाग्रह, मनमुटावलाई भुलेर मन फराकिलो बनाउन आवश्यक रहेको उनले उल्लेख गरिन् ।