काठमाडौं – नेकपा(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका मानिसहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन्।
शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरू अलमलिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरू ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन्।
उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू समाजवादीमा रूपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे। पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले बताए।
उनले भने, ‘पार्टीको ७७ वटै जिल्लामा संगठनहरु बनिरहेका छन्। हिजो हामीले २०७७ चैत ४ र ५ गते पश्चात् बनाएका पार्टी र सबै जनवर्गीय संगठनहरु रुपान्तरित भइरहेका छन् । त्यस अर्थमा यो नितान्त नयाँ पार्टी होइन। क्रान्तिकारीहरु, परिवर्तनकारीहरु, इमान्दार र निष्ठावानहरु अहिले यो पार्टीमा आवद्ध भएका छन् उनले अगाडि थपे, कतिपय मानिसहरु अझै त्यहाँ अलमलिएका होलान्, असल मानिसहरु पनि भ्रमवश बसिरहेका होलान्। ती व्यक्तिहरुले ढिलो चाँडो हाम्रो यो पार्टीमा आउनैपर्छ। उहाँहरूलाई हामी स्वागत गर्नेछौँ।’
अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन पनि आग्रह गरे। उनले व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउनसमेत आग्रह गरे।





प्रतिक्रिया