देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

देशान्तर

बर्दिया – बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

गए राति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाए लगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैले घर परिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए । धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्‍याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको मृत्यु भएको थियो ।