देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ५५ सय प्रहरी परिचालित

देशान्तर

काठमाडौँ – काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी हिजोदेखि काठमाडौँ, ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको व्यवस्थापनलाई चुस्त बनाउन विशेष योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिएका छन्। ठूला चाडपर्वका बेला चोरी, डकैती, पाकेटमार, चन्दा अपहरण, फिरौती, कालोबजारी तथा तोकिएको भन्दा बढी भाडा लिने जस्ता गलत क्रियाकलाप हुने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको एआईजी पालको भनाइ छ ।

यो योजना अन्तर्गत काठमाडौँ ललितपुर र भक्तपुरमा पाँच हजार पाँच सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले बैंक तथा वित्तीय संस्था, बसपार्क, र भीडभाड हुने क्षेत्रमा प्रहरीले निगरानी बढाउनेछ । ४८ वटा चारपाङ्ग्रे, ३५ वटा मोटरसाइकल र ८३ वटा क्विक रेस्पोन्स टीम क्यूआरटी परिचालन गरिएको छ ।

हरेक दिन ३६ ठाउँमा विहान र बेलुका आकस्मिक सुरक्षा जाँच हुने र सार्वजनिक गाडीमा पनि सादा पोसाकमा प्रहरी खटाइने एआईजी पालले जानकारी दिए।