देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल शीर्ष स्थानमा

देशान्तर

भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो । रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ ।

रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले सुरुवाती गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भ्यालेन्सियाले ६६औं मिनेटमा खाता खोलेको थियो । हुगो डुरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

खेलको सुरुवातदेखि भ्यालेन्सियालार्य दबाबमा राखेको रियलले गोलका लागि अन्तिमसम्म कुर्नु परेको थियो । ८६औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । भिनिनियसको जारी लिगमा यो पाँचौं गोल हो ।

उनले पाँच खेलमा पाँचै गोल गरेका छन् । दुई मिनेट लगत्यै बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियलको जित पक्का बनाएका थिए । जारी लिगमा ६ गोल गरिसकेका बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा छन् ।

६१ प्रतिशत बल पोसेसन राखेको रियलले पहिलो हाफमा राम्रा अवसर खेर फालेको थियो । १८ वटा पोस्ट प्रहार गरेको रियलले अन्तिममा पुगेर कठिन जित निकाल्यो । भ्यालेन्सियाले १२ वटा पोस्ट प्रहार गरेको थियो । ३९ बल पोसेसन राखेको भ्यालेन्सियाको रियललाई रोक्ने प्रयास सफल भएन । रियलका भिनिसियस ‘म्यान अफ दी म्याच’ भए ।

जितसँगै शीर्षस्थान कब्जा गरेको रियलले पाँच खेलबाट १३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ११ अंक छ । रियलसँग पराजित भ्यालेन्सिया १० अंक सहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको रियल सोसिडाडको पनि १० अंक छ ।

आइतबार रातिनै भएको खेलमा रियल सोसिडाड सेभियासँग गोलरहित बरबरीमा रोकिएको थियो । अर्को खेलमा रियल बेटिस र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । घरेलु मैदानमा मालोर्का पनि भिल्लारियलसँग गोलरहित बराबरीमा रोकियो । लिग अन्तर्गत सोमबार राति बार्सिलोना र ग्रानाडाबीच प्रतिस्पर्धा हुनेछ ।