काठमाडौं – लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरू आन्दोलित भएका छन्।
सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालयअगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरूले लोकसेवाजस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन्। उनीहरूले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन्।
प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए। उनीहरूले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन्। प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न खोजेको आरोप लगाए। उनले लोकसेवा आयोगले सबै परीक्षा सकिसकेपछि पनि नियम, कानुन र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए।
प्रदर्शनकारी परीक्षार्थीहरूले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरू डिप्रेशनको शिकार भइरहेको बताएका छन्। उनीहरूले लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको बताएका छन्।





प्रतिक्रिया