काठमाडौँ — प्रधानमन्त्रीको शपथ लिएको ६९ दिन भइसक्दासम्म पनि शेरबहादुर देउवाको सरकारले पूर्णता पाएको छैन । प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी ६ जनाले मात्रै मुलुक चलाइरहेका छन् ।
५ दलीय गठबन्धनको नेतृत्व गर्दै असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता कहिले दिने भन्ने टुंगो लगाइसकेका छैनन् । उनले जहिले पनि छिट्टै पूर्णता पाउँछु भन्दै आएका छन् ।
सत्तारुढ गठबन्धनका अरु नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल पनि सोही बोली दोहोर्याउँदै आएका छन् । तर मन्त्रिपरिषद्लाई पूर्णता दिन भने सकस भइरहेको छ ।
प्रधानमन्त्री देउवाले सोमबार पनि छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि मन्त्रिपरिषद्ले पूर्णता कहिले पाउँछ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा देउवाको छोटो जवाफ थियो, छिट्टै पाउँछ ।
त्यसको केहीपछि संसद् भवनबाट बाहिरिएका सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन)अध्यादेश, २०७८ खारेज नभएसम्म मन्त्रिपरषद्ले पूर्णता नपाउने बताएका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश कायमै राखेमा दलहरूलाई अस्थिर बनाउने र विभाजन गर्ने भन्दै यादवले त्यसको खारेजी गरेर मात्रै मन्त्रिपरषद्लाई पूर्णता दिनुपर्ने बताए । उनले अझैसम्म पनि सत्तारढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो नलागिसकेको बताएका छन् ।
‘सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ । त्यो भइसक्या छैन, यादवले भने, दलसम्बन्धी अध्यादेश खारेज हुन्छ । र त्यो खारेज हुने बित्तिकै मन्त्रिपरिषद्को बिस्तार हुन्छ । सरकारले पूर्णता पाउँछ ।
दलसम्बन्धी अध्यादेश छिट्टै खारेज गरिने पनि यादवको भनाइ थियो । उनले थपे, यो गलत छ । दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने दलहरू भित्र र त्यसले अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले त्यसलाई खारेज गर्ने र मन्त्रिपरिषद् विस्तार गर्नेछ ।’
राजनीतिक दलसम्बन्धी अध्यादेश कायमै राखेर मन्त्रिपरिषद् बिस्तार हुन नसक्ने यादवको भनाइ थियो ।





प्रतिक्रिया