देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस वडा अधिवेशन : तीन वडा सभापति सर्वसम्मत

देशान्तर

काभ्रेपलाञ्चोक – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनका क्रममा काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन् । यसरी चयन हुनेमा धुलिखेल नगरपालिका-११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा-११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा प्रेम शर्मा वाग्ले रहेका छन् ।

पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिए। उन्नाइस हजारभन्दा बढी क्रियाशील सदस्यले बाँकी वडासभापति चयन गर्दैछन् । जिल्लामा तेह्र पालिका छन् ।

आज काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ । पार्टीको केन्द्रीय कार्यालय अनुसार यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सदस्यता विवरण प्राप्त भएपछि वडा अधिवेशनको समय तालिका निर्धारण गरिनेछ । वडा निर्वाचनमा उन्नाइस् हजार १० सदस्यले मतदान गर्न पाउने समितिले जनाएको छ ।

समितिका अनुसार वडा निर्वाचनमा वडासभापतिसहित २२ को वडा कार्यसमिति चयन गनर्छे । साथै, वडा निर्वाचनमा वडामा रहेका क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखिमाथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जनाइएकोे छ । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।

पार्टीको निर्वाचन कार्यतालिका अनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ-नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ । यस्तै, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर नौदेखि १३ गतेसम्म तय गरिएको छ ।

यसैबीच, यही असोज ९ गते हुने नगर निर्वाचनमा बनेपाका वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला सभापतिमा भने सात आकांक्षी देखिएका छन् । वर्तमान जिल्ला पार्टी सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्व सांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाइ र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेका छन् ।