देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको विरोधका बीच राष्ट्रिय सभामा विनियोजन विधेयक टेबुल

देशान्तर

काठमाडौं – प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को नाराबाजी र विरोधका बीच विनियोजन विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ । आज (मंगलबार) बसेको राष्ट्रिय सभाको बैठकमा सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित आएको विनियोजन विधेयक सभामा टेबुल गरेका हुन् ।

प्रमुख प्रतिपक्ष एमालेले बैठकको शुरुमै विरोध जनाएको छ । एमाले सांसदहरू सिटबाट उभिएर विरोध जनाइरहेको अवस्थामा नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक टेबुल गर्न सचिवलाई समय उपलब्ध गराएका थिए ।

एमाले सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभाका एमालेबाट निर्वाचित १४ सांसदलाई सभामुखले पदमुक्त भएको सूचना नटाँसेसम्म विरोध जारी रहने बताएका थिए । ‘जबसम्म सभामुखले आफ्नो गल्ती स्वीकार्नु भएको छैन, एमालेले कारबाही गरेका १४ जनाको नाम अहिले पनि टाँस गरिएको छैन, त्यो स्थिति रहुन्जेलसम्म विरोध जारी रहन्छ,’ दाहालले भनेका थिए ।

अध्यक्ष तिमिल्सिनले भने आफ्ना कुरा राखिसकेपछि बसेर सभाको कारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।