देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

देशान्तर

सुरुङ्गा – पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी-१० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३-००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक- ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार शिवसताक्षी १० माईधारस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्र्व आउँदै गरेको उक्त टिपरले सोही दिशातर्फ आइरहेको बोलेरोलाई ठक्कर दिएको थियो । ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो । बोलेरोलाई बाहिर निकाल्दा चालक दमक ९ निवासी ४० वर्षीय खड्का मृत अवस्थामा गाडीभित्र फेला परेका थिए । दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका-८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व-पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

चार सयभन्दा बढी स्थानीयवासीले राजमार्ग अवरोध गरेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरीले सम्झाएर राजमार्ग खुलाएका थिए । बोलेरोमा अझैं दुई यात्रु रहेको भन्दै खोजी सुरु गरिएको छ । नहरको पानीले उनीहरुलाई बगाएर लगेको आशङ्कामा खोजी गर्न पानी थुनिएको प्रहरीले जनाएको छ ।