काठमाडौँ – भीम सार्कीले अर्धशतक बनाएपछि चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । चितवनले पहिलोपटक उपाधि जितेको हो । चितवनले शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो ।
चितवनले टस जितेपछि ब्याटिङमा आएको पोखराले १७.५ ओभर खेली १ सय २१ रनमा अलआउट भएको थियो । भीमले ४४ बलमा ६३ रन बनाएपछि चितवनले १५.५ ओभरमै लक्ष्य पुरा गर्यो । उनले ७ चौका र २ छक्का प्रहार गरे । भीम आउट भएपछि आएका कप्तान सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे ।
चितवनको सुरुआत निकै दयनीय थियो । दोस्रो ओभरमै हासिम अन्सारीलाई नन्दन यादवले शून्यमा आउट गरे । करिम जन्नतले पनि ४ बल खेलेर खाता खोल्न सकेनन् । ओपनर मोहम्मद शाहजाद १४ बलमा २ चौका प्रहार गरी ११ रन बनाए । दुवै अफगानि ब्याटरलाई किशोर महतोले आउट गरेका थिए ।
दीलिपले १७ बल खेली २ चौका प्रहार गरी १८ रन बनाई किशोरको तेस्रो सिकार भए । राजेश पुलामी १२ बलमा १ चौका प्रहार गरी १४ रनमा नन्दनको बलमा बोल्ड भए ।
चितवनले राउन्ड रोबिन लिग र क्वालिफायरमा दुवैपटक पोखरालाई पराजित गर्दै फाइनल पुगेको थियो । दुवै खेल चितवनले समान ९ विकेटले जितेको थियो ।





प्रतिक्रिया