देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दक्ष जनशक्ति अभावमा बैतडीका १५ सुरक्षित गर्भपतन सेवा बन्द

देशान्तर

बैतडी – दक्ष जनशक्ति अभावमा बैतडीमा दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा बन्द भएको छ। जिल्लाका २४ सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेकोमा दुई वर्षदेखि १५ स्थानमा सेवा बन्द छ।

अहिले जिल्ला अस्पताल बैतडी, सिद्धेश्वर स्वास्थ्य चौकी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, विशालपुर स्वास्थ्य चौकी, शर्माली स्वास्थ्य चौकी, हाट स्वास्थ्य चौकी, रिम स्वास्थ्य चौकी, कोटपेटरा स्वास्थ्य चौकी र गिरेगडा स्वास्थ्य चौकीमा सेवा उपलब्ध छ। बाँकी संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी अभाव भएकाले सेवा बन्द रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिसप्रसाद भट्टले बताए।

‘गएको दुई वर्षदेखि १५ स्थानबाट सुरक्षित गर्भपतन सेवा बन्द छ,’ भट्टले भने, ‘कर्मचारी समायोजनपछि यहाँ रहेका तालिम प्राप्त दक्ष जनशक्ति बाहिर गएपछि समस्या भएको हो।’

हाल सेवा बन्द रहेका १५ वटा सूचीकृत संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रवाहका लागि पहल भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने, ‘स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थाका लागि, प्रदेश र संघीय सरकारलाई आग्रह गरेका छौं।’

सूचीकृत संस्थाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरु नुहँदा अन्य ठाउँमा गएर असुरक्षित गर्भपतन गराउनाले जोखिम बढ्दै गएको छ। निजी स्थास्थ्य संस्थाबाट जथाभावी औषधि किनेर गर्भपतन गराउँदा जोखिम हुने भएकाले सूचीकृत स्वास्थ्यसंस्थाबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वशन्तराज जोशीले बताए।