काठमाडौँ — रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको छ । गोली चल्दा सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।
निर्माणाधीन औद्योगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरुलाई हटाउने क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा गोली चलेको बताइएको छ । आइतबार बिहानैदेखि जिल्ला प्रशासनले औधोगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको थियो । रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्यनारायण थापाले दिउँसो साढे १ बजेतिर कब्जा गरेको जग्गाबाट व्यक्तिहरु हटाउने क्रममा गोली चलेको बताए ।
स्थानीय बासिन्दाहरुले दुवैतर्फबाट गोली चलेको दावी गरेका छन् । डिएसपी थापाले भने सुरक्षाकर्मीसहित अरु पनि घाइते भएकाले घटनाबारे थप अनुसन्धान गरेको बताएका छन् ।
रुपन्देही प्रशासनले त्यस क्षेत्रमा भएको जग्गा कब्जा हटाउन आइतबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।
साथै २०७३ मा ८१३ बिगा क्षेत्रफल जग्गामा मोतीपुर औधोगिक क्षेत्रको नाममा पुर्जासमेत बनेको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै ४०० घरटहरा निर्माण गरिएका छन्। कब्जा गरिएको जग्गा हटाउन भदौ २९ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।





प्रतिक्रिया