स्याङ्जा – स्याङ्जाको वालिङमा हिजो साँझ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।
दुर्घटनामा परि घाइते भएकी गल्याङ १० की ४ वर्षीया करिश्मा थापाको उपचारका क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।
आइतवार साँझ भएको दुर्घटनामा परि गल्याङ – १० का ३२ वर्षीया गङ्गा पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको थियो । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये तीन जनाको डिस्चार्ज भएको छ भने १४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदिखोलामा दुर्घटनामा परेको थियो । जीप ग्रामीण सडकबाट एक सय मिटर तल झरेको थियो ।





प्रतिक्रिया