देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिने

देशान्तर

काठमाडौँ – कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गएको वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो ।

यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । प्रत्येक वर्ष महानवमीका दिन धेरै भक्तजन तलेजु भवानीको दर्शन गर्न हनुमानढोका दरबार क्षेत्रमा लाइन लाग्ने गर्छन् ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार आज बिहान ७स११ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजेको साइतमा स्थिरासनमा राखिएको कार्यालय प्रमुख खनालले सुनाए ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमीको राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गर्ने तयारी भएको छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतमा भवानीलाई मूल मन्दिर फर्काइन्छ ।